मेडिकल व्यावसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत थप आन्दोलनको कार्यक्रमलाई लक्षित गर्दै प्रहरी-प्रशासनले नयाँ रणनीति बनाएको छ । भक्तपुरको ठिमीस्थित घरबाट प्रसाईंलाई बाहिर निस्किन अवरोध गरिएको हो ।
नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा प्रसाईँको घरलाई वरपरबाट घेरेको छ । सुरक्षा स्रोतका अनुसार उनलाई त्यहाँबाट निस्कन नदिने प्रहरीको तयारी छ । प्रसाईं निवासमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले आज बिहान प्रसाईँका २६ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको तीनकुनेमा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ को समर्थनमा निस्किएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, आङनिमा शेर्पा, नवराज अधिकारी, तेजनारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उणेश पराजुली, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरी थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यम कुमार मैनाली, हरीप्रसाद दहाल, दिलबहादुर घिसिङ, धन सिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र सावित्रा क्षेत्री रहेका छन् । उनीहरुलाई माइतीघरस्थित प्रहरी वृत्तमा राखिएको छ ।
प्रसाईँले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए ।