पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम टीमलाई ८ विकेटले पराजित गरेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५८ रनको सामान्य लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
मधेसका ओपनर अनिल शाहले २५ रनको विष्फोटक इनिङ खेले । ११ बल खेलेका शाहले ३ चौका र २ छक्का प्रहार गरे । इम्रान शेखले ९ बलमा १७ र पवन सराफले ५ बलमा अविजित १७ रन बनाए ।
बलिङमा सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए ।
यो जितसँगै समूह सीमा मधेस प्रदेश र नेपाल पुलिस क्लबको २-२ अंक भएको छ । मधेससँग हारेको सुदूरपश्चिम अंकविहीन छ ।
यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । मंगलबार हुने सुदूरपश्चिम र पुलिसबीचको खेलले सेमिफाइनलको टुंगो लाग्नेछ ।