काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
आजबाट काठमाडौँ जिल्ला अदालत अगाडिको सडकमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको हो । काठमाडौं महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष हिरालाल तन्डुकार, प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रमुखले संयुक्त रूपमा लाइटको बटम थिची समुद्घाटन गरेका हुन् ।
अब पैदलयात्रुले बाटो काट्न बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् । अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको हो, यसले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउन मदत गर्दछ ।
जिल्ला अदालत अगाडिको सडकमा १० लाख खर्च गरेर काठमाडौं महानगरले यो प्रविधि जडान गरेको हो । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म हरियो बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् ।