NRN
३० सेवा प्रदायकलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल दूरसञ्चार प्राधिकरणकाे अनुराेध

नेपाल दूरसञ्चार प्राधिकरणले ३० सेवा प्रदायकलाई सात दिनभित्र सम्पर्कमा आउन उर्दी जारी गरेको छ ।

नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयमा नबुझाएपछि प्राधिकरणले यी दूरसञ्चार सेवा प्रदायकलाई सातदिने अल्टिमेटम दिएको हो ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै सात दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ । अन्यथा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरण नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयमा नबुझाउनेमा ब्रोड ब्याण्ड नेपाल प्रालि, सी. डाटा कम्युनिकेसन प्रालि, कालिका नेट प्रालि, एस नेट नेपाल प्रालिलगायत छन् ।

दूरसञ्चार सेवा प्रदायक प्राधिकरणको नीति नियमानुसार चल्नुपर्ने प्रावधान छ । तर कतिपय सेवा प्रदायकले प्रचलित नियम पालनामा उदासीनता प्रकट गर्दै आएका छन् ।

यसअघि माइक्रो भिडियो ब्लगिङ साइट टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा पनि केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायकले सहयोग गरेपछि प्राधिकरणले पत्र काट्दै कारबाहीको चेतावनी दिएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update