NRN
अछामबाट ओलीकाे गर्जन– मान्छे मारेर चुनाव जित्ने संस्कृति भनेको घिनलाग्दो हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने नाममा मानिस मार्ने घिनलाग्दो संस्कृति विकास भएको बताएका छन् । समृद्धिको लागि संकल्प यात्रामा निस्किएका ओलीले आइतबार अछामको विनायकमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै एउटा मान्छे मारेर चुनाव जित्ने संस्कृति अति घिनलाग्दो भएको बताएका हुन् ।

ओलीले भने, ‘एउटा मान्छे मारेर चुनाव जित्ने संस्कृति भनेको घिनलाग्दो हो ।’

ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद शाहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद व्यक्त गरे । एउटा होनहार युवाको हत्या गरेर अत्यन्तै घिनलाग्दो काम गरिएको बताउँदै उनले भने, ‘म विनोद शाहीलाई शहीद घोषणा गर्दछु ।’

ओलीले सरकामा हुँदा पनि एमालेले यस्ता कुरालाई हतोत्साहित गरेको बताउँदै ओलीले भने, ‘हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैन, जब हामी सरकारबाट हट्छौँ तब विभिन्न हत्या हिंसाका शृङ्खलाहरू सुरु हुन्छन्, जाली मुद्दा लगाउने सिलसिला सुरु हुन्छ, हत्यारा उम्काउने सिलसिला सुरु हुन्छ ।’ 

ओलीले पञ्चदेवल जस्तो पवित्र ठाउँ कुनै पनि अपराध गर्ने र अपराधी लुक्ने ठाउँ हुनु नहुने बताउँदै स्थानीयलाई सतर्क र सजग हुन पनि उनले आग्रह गरे ।

नेकपा एमालेले सुदूरपश्चिम बैतडीको झुलाघाटबाट मध्यपहाडी पुष्पलाल लोकमार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update