NRN
प्रचण्ड भन्छन् - अर्थतन्त्र सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार हुन सकेन

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अर्थतन्त्र सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार हुन नसकेको बताएका छन् । काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै बिहीबार प्रचण्डले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरू हेर्दा अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा आशाको सञ्चार नदेखिएको टिप्पणी गरेका हुन् ।

मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले केही नयाँ घोषणा गर्ने तयारीमा रहेको उनले जानकारी दिए । अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणा गर्नैपर्ने देखिएको उनको भनाइ छ ।

'तथ्याङ्कहरूमा हेर्दा अर्थतन्त्र सुधार हुँदै गएको देखिन्छ तर व्यवहार र आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हामी सबैको अगाडि विद्यमान छ,' उनले भन्छन्, 'अर्थतन्त्रमा केन्द्रित रहेर बृहत् बैठक र केही नयाँ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिन चाहन्छु ।'

शासकीय सुधार गरी अर्थतन्त्रमा समेत सुधार ल्याउनु अहिलेको अवश्यकता रहेको प्रचण्डले बताए । व्यवसाय र राजनीतिको क्षेत्रमा जिम्मेवारी बोधको अनुभूति गराउन आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, 'हामीसँग भएका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउनेतिर हामी सबै लाग्यौँ भने नेपालमा प्रचुर सम्भावना छ । जहाँबाट नेपालले विकासको यात्रा तीव्र गतिमा अगाडि बढाउन सक्छौँ ।'

अहिले समाजमा हरेक कुरामा नकारात्मकता बनाउने प्रयास भइरहेको भन्दै यसबाट देशले कहिल्यै प्रगति गर्न नसक्ने उनको टिप्पणी छ । अर्थतन्त्र सुधार हुने आशा जगाउनु चुनौतिपूर्ण भएको बताउँदै उनले मुलुकको अर्थतन्त्रका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउन सके नेपालमा प्रचुर सम्भावना रहेको बताए ।

'अहिले समाजमा हरेक कुरामा नकारात्मकता बनाउने प्रयास एक थरी मान्छेहरूले गरेका छन् । यसबाट देशले कहिल्यै पनि प्रगति गर्न सक्दैन,' उनले भने, 'त्यो ओरालो यात्रा मात्रै हुनेछ । आशा जगाउनु अहिलेको चुनौतीपूर्ण अवस्था रहेको ठानेको छु ।'

प्रधानमन्त्रीको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न आर्थिक कार्यक्रमहरू अगाडि सारिरहेको भनाइ छ । उनले मुलुकको प्रमुख साझेदार निजी क्षेत्र मात्र नभएर सरकार र राज्यका सबै निकायहरू जिम्मेवार बन्न आवश्यक रहेको पनि बताए ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update