एसीसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
मंगलबार बिहान दुबईको आईसीसी एकेडेमी ओभल-२ मैदानमा भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले यसअघि समूह चरणका पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रोमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
समूह चरणका दुई खेलमा लगातार पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रूपमा मात्र जिवित छ ।
प्रतियोगितामा ८ टोली सहभागी छन् । जसमा नेपाल समूह ‘ए’ मा छ । समूह ‘ए’मा नेपाल सहित भारत, पाकिस्तान र अफगानिस्तान छन् भने समूह 'बी'मा आयोजक यूएई, बंगलादेश, जापान र श्रीलंका छन् ।
दुवै समूहमा शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ‘ए’ को अन्तिम खेलमा आज नै पाकिस्तान र अफगानिस्तान आमनेसामने छन् ।