राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा आगामी पुस १ देखि ३ गतेसम्म हुने भएको छ ।
रिष्ठ नेता राजाराम श्रेष्ठले पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको जानकारी दिए । पार्टीको संरचनामा स्थानीय, प्रदेश, केन्द्र तथा क्षेत्रीय अधिकार तथा विभिन्न पद र जिम्मेवारीअनुसार नेताहरूको काम, अधिकार र कर्तव्य तोकिएको नियमावली अनुमोदन भएपछि केही नेताहरूको जिम्मेवारीसमेत हेरफेर हुने जनाइएको छ । पार्टीको एकता महाधिवेशनका क्रममा नयाँ नियमावली निर्माण गर्ने समझदारी भएको थियो ।
राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिन अन्य दलसँग समन्वय गर्ने विषयका साथै बैठकमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी गर्न सुझाव संकलनका विषयमा पनि छलफल हुने छ ।
पार्टीले उठाउँदै आएको समान विचार राख्ने राजनीतिक दलहरू, संघसंस्थासँग समन्वयका लागि भएका कार्ययोजना तथा प्रगति विवरणका बारेमा जानकारी गराइने छ ।
बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन तथा महामन्त्री धवलशम्शेर राणाले देशभरको साङ्गठनिक योजनासहितको प्रतिवेदन प्रस्तुत गर्ने नेता श्रेष्ठले बताए । उनले बैठकमा मुलुकको पछिल्लो राजनीतिक, सामाजिक, आर्थिक अवस्थामा समीक्षा गरिने र संसद्मा पार्टीले निर्वाह गरेको भूमिकाबारे केन्द्रीय नेतालाई जानकारी गराएर संगठन सुदृढीकरणका लागि रणनीति तय गरिने जानकारी दिए ।