NRN
संघीय संसदको महासचिवको जिम्मेवारी पाण्डेयलाई

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयलाई संघीय संसदको महासचिवको जिम्मेवारी दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसद्को महासचिवमा नियुक्ति गर्न गरिएको सिफारिस ‘पेन्डिङ’ मा राखेपछि सभामुख घिमिरेले आज उनलाई कार्यवाहक महासचिव तोकेका हुन् । सभामुखले घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाको परामर्शमा प्रतिनिधि सभाका सचिव पाण्डेयलाई महासचिवको काम गर्न तोकेको सभामुख सचिवालयले जनाएको छ ।

प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभामुख घिमिरेले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहँदा सम्पर्क नभएपछि जिम्मेवारी तोकेका हुन्।

उक्त पत्रमा भनिएको छ, ‘संघीय संसदको महासचिव डा.भरतराज गौतमले मिति २०८०।०८। २४ बाट लागू हुने गरि आफ्नो पदबाट राजिनामा दिनु भै अनुपस्थित रहनु भएको हुँदा "प्रतिनिधि सभा नियमावली" २०७९ को नियम २ को खण्ड (ढ) तथा "राष्ट्रिय सभा नियमावली" २०७५ को नियम २ को खण्ड (ड) बमोजिम राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा मिति २०८०।०८।२७ बाट लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको सेवा सुविधा पाउने गरी संघीय संसदको महासचिवको काम गर्न तपाईंलाई तोकेको छु ।’

महासचिव गौतमले राष्ट्रपतिसमक्ष आइतबार राजीनामा दिएका थिए । उनले राजीनामा दिएपश्चात सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेनाले प्रतिनिधिसभाका सचिव पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update