प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको जानकारी दिएको छ ।
आज पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश पठाउने प्रकरणमा कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्व प्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरू ११ जना रहेका पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिएका छन् ।
पक्राउ परेका मध्ये ९ जनामाथि सङ्गठित अपराधमा अनुसन्धान भइरहेको र लिखत सम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, ८ जना धरौटीमा छुटिसकेको र बुधवार मात्र थप ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरूमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेको जानकारी दिएका छन ।