सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद् सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बिहीवार सभामुख घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘म सभामुखको नाताले पनि भन्न चाहन्छु । नीति बनाउँद र कार्यान्वयन गर्दा हाम्रो सर्वोच्च विधायिका संस्था संसद्ले यी कुराप्रति गम्भीर भएर हामीले छलफल गरिरहेका छौँ कि छैनौँ ? तदनुकूलको आचरण र व्यवहार गर्न हामीले मेहनत गरिरहेका छौँ कि छैनौँ ? विश्वव्यापी रूपमै संसद्को भूमिका के हुन्छ ? संसद्को गरिमा कसरी राख्न सकिन्छ ? संसद्लाई कसरी प्रभावकारी पार्न सकिन्छ ? यसको विषयमा विगतका दिनदेखि अहिलेसम्म आइपुग्दाखेरी हामीले बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूति गर्नुपर्ने कुरालाई मैले पनि गम्भीरतासाथ लिएको छु ।’
घिमिरेले संसद्को गरिमा कायम राख्दै संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए । उनले संसद्को सन्दर्भमा विगतमा भएका बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिलाई आफूले गम्भीरताका साथ लिएको बताए ।
उनले संसद्को गरिमालाई उच्च राख्नका संघीय संसद् सचिवालयले संविधानले व्यवस्था गरेअनुरूपको काम गर्नुपर्ने बताए । उनले आर्थिक अवस्था कमजोर हुँदा संघीय संसद् सचिवालयले चाहेजस्तो काम गर्न नसकेकोतर्फ इंगित गर्दै मुख्य समस्या आर्थिक समस्या मात्रै नभएको उल्लेख गरे ।
सभामुख घिमिरेले संघीय संसद् सचिवालयका कर्मचारीहरूले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई सहयोग पुर्याउनुपर्ने पनि बताए ।