NRN
संघीय संसदहरुको टोली १० दिने चीन भ्रमणका लागि आज बेइजिङ प्रस्थान

संघीय संसदका सदस्यहरुको टोली आज सोमबार १० दिने चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको हो ।

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो । चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ शहरसमेत भ्रमण गर्ने कार्यतालिका छ ।

भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला सहभागी छन् ।

भ्रमण टोलीमा नेपाली कांग्रेस ५ जना जसमा युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा र नेकपा एमालेका दामोदर बैरागी, मानवीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने गरी –५ जना छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा ३ छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी छन् ।

१० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौं फर्कने कार्यतालिका छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update