प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति असन्तुष्टि जनाएका छन् ।
सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो प्रश्न राख्ने, तर जवाफ नसुनी मेयर बालेन कार्यक्रमस्थलबाट बाहिरिएको भन्दै प्रधानमन्त्री 'प्रचण्ड' ले असन्तुष्टि व्यक्त गरेका हुन् ।
मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए । बालेन आफ्नो भनाइ राखेपछि कार्यक्रमस्थलबाट बारिए ।
मेयर शाहले आफ्ना कुरा राख्ने तर अरूका कुरा नसुन्ने गरेको भन्दै कार्यक्रमकै मञ्चबाट प्रधानमन्त्री दाहालले यसो गर्दा आफूलाई इरिटेसन हुने बताए ।
‘अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ,’ 'प्रचण्ड' ले भने, ‘आफूले भन्ने कुरा जे-जे भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, प्रमुख अतिथिले बोल्ने बेलासम्म बस्नुपर्छ ।’
बागमती किनारका सुकुम्बासी बस्ती वा तीनकुने र फोहोरमैला व्यवस्थापनका निम्ति मिलेर काम गर्न आफूले पहल गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘के अहिलेको प्रधानमन्त्री जत्तिको सकारात्मक र रचनात्मक ढंगले यी समस्या समाधान गर्न समन्वय अर्को कहीँ कसैले देख्नुभएको छ?,’ मेयर बालेनलाई प्रश्न गर्दै प्रधानमन्त्री दाहालले भने, ‘तपाईं त्यसलाई सम्बोधन गर्न किन डराउनुहुन्छ? तपाईं काठमाडौंको मेयर भएकोले ललितपुर र भक्तपुरलाई समन्वय गर्ने बढी जिम्मेवारी तपाईंको छ ।’
प्रधानमन्त्री दाहालले आफूले मेयर शाहलाई सहयोग गर्ने बताइरहेको पनि बताए। ‘प्रधानमन्त्रीले समस्या समाधान गर्न बल गरिराखेको छ भन्न तपाईंलाई केले रोक्यो?,’ उनले प्रश्न गरे ।
मेयर शाह र मन्त्री प्रकाश ज्वाला कार्यक्रमको अन्तिमसम्म नबसेको भन्दै ललितपुरका मेयर चिरीबाबु महर्जन पनि असन्तुष्ट देखिएका थिए ।