NRN
एनसेलबाट कर असुल गर्न सङ्घीय संसद् समितिको सरकारलाई निर्देशन

सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

आजको बैठकले एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समिति–२०८० को प्रतिवेदनसमेतलाई आधार लिई राज्यलाई बुझाउनुपर्ने कर रकम एनसेलबाट असुल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले छानबिन समितिको प्रतिवेदन नआउन्जेलसम्म एनसेलको शेयर कारोबारमा स्वीकृति तथा सहमति नदिन ती मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । साथै समितिले दूरसञ्चार ऐन तथा नियमावलीमा समय सापेक्ष संशोधन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

सरकारलाई बैठकले एनसेलजस्ता ठूला कम्पनी खरिद–बिक्री गर्दा खरिदकर्ताको क्षमता, कम्पनी चलाएको अनुभव सम्बन्धमा जाँच गरी कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ ।

यस्तै, अहिलेसम्म एनसेलले शेयर किनबेच गरेको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले गरेको कामकारबाहीको सम्बन्धमा जानकारी माग गर्ने तथा विसं २०८६ मा एनसेल नेपाल सरकारको स्वामित्वमा ल्याउन पहल गर्न सरकारलाई आवश्यक नियम कानुन संशोधन गर्न समितिले निर्देशन दिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update