प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको पहिलो एक वर्षमा विकास, सेवा र सुशासनको क्षेत्रमा धेरै रेकर्डहरू बनेको बताउँदै आगामी वर्षमा थप रेकर्डहरू बन्ने दाबी गरेका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा माओ जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले आफू अब परिणाम निकाल्ने ढङ्गले अघि बढेको बताएका हुन् ।
‘सरकारले एक वर्ष पूरा गरेको छ । योबीचमा केही न केही रेकर्डहरू त बनेकै छन् । त्यसलाई नजिकबाट नियाल्ने मानिसहरूले देख्नुभएकै छ,’ ‘प्रचण्ड’ ले भने, ‘अब नयाँ वर्षमा नयाँ ढंगले काम गर्ने प्रण गरेको छु । म आफैँले नयाँ ढंगले काम थालिसकेको छु । अबको वर्ष सरकारले प्रदान गर्ने सेवाको क्षेत्रमा, विकासको क्षेत्रमा र सुशासनको क्षेत्रमा केही न केही रेकर्डहरू बनाउँछ, बनाउनैपर्नेछ ।’
उनले पुसको सुरुवातदेखि नै आफू १० बजे नै सिंहदरबार पुगेर मन्त्रालयले कति काम गरे र किन काम भएन भन्नेबारे जानकारी लिइरहेको सुनाए । ‘अरूलाई उपदेश दिनुभन्दा प्रधानमन्त्रीले नै आफ्नै कार्यशैलीमा परिवर्तन गरेको देखुन् भनेर मैले आफ्नो कार्यशैलीलाई परिवर्तन गरेर परिणाममुखी बनाउन लागेको छु,’ प्रधानमन्त्रीले भने, ‘कर्मचारीतन्त्रैलाई एकीकृत ढङ्गले अघि बढाएर परिणाम दिने तरिकाले तयारी सुरु गरिसकेको छु । आज जनतालाई कामको लक्ष्य पनि भन्छु ।’ उनले सुशासन, सामाजिक न्याय र समृद्धिको नारा अन्तर्गत नै समाजवादको आधार तयार गर्नुपर्ने जिकिर गरे ।
उनले विचारको विकास नै अहिलेको मुख्य चुनौती नै भएको जिकिर गरे । उनले भने, ‘आज लिनुपर्ने सङ्कल्प भनेको आजको युग सापेक्ष हाम्रो मौलिक विचारको विकास गर्नु हो । म युवालाई पनि अध्ययन र चिन्तनमा र विचारको विकास गर्न ध्यान दिन अपिल गर्न चाहन्छु ।’
उनले माओवादीको विशेष अभियान सफल भएको बताउँदै सो अभियान समापन गरेपछि केन्द्रीय समितिको बैठकले विधान तयार गरेर अर्को अभियानमा जाने पनि बताए ।
माओप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री दाहालले दश वर्षे जनयुद्ध र शान्तिकालमा पार्टीमा योगदान पुर्याएका नेता कार्यकर्ताहरूको योगदानलाई समेत स्मरण गरे ।