NRN
एमाले सांसदले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसदहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका छन् । 

सोमबार बसेको समितिको बैठकमा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउँदै बालकुमारी घटनाको विषयलाई लिएर त्यसको जिम्मेवार गृह मन्त्रालय भएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

"मन्त्रीज्यू, तपाईं राजीनामा दिनुस् । छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । अब तपाईं राजीनामा दिनुस्, दिनैपर्‍यो," उनले भने, "सबैतिर अशान्त छ देशव्यापी रूपमा अशान्ति छ, चलाउन सक्नुहुन्न भनेर राजीनामा दिनुस् ।"

उनले युवाले विदेश गएर काम गर्छु भन्दा गोली हानेर मार्नेले राजीनामा नदिए कसले दिन्छ, भन्दै प्रश्नसमेत गरेका छन् ।

गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएको थियो । घटनामा दुई युवकको मृत्यु भएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update