NRN
राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल

राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा बालुवाटारमा नेपाली कांग्रेसका र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि सिट बाँडफाँटका विषयमा दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको हो ।

कांग्रेसका तर्फबाट छलफलमा सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने माओवादीका तर्फबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।

उनीहरूले कुन प्रदेशमा कुन दलको मतभार कति छ भन्नेबारे प्रारम्भिक छलफल गरेका छन् ।

कांग्रेसको पुस १२ देखि पुस १४ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सत्ता गठबन्धनसँग तालमेल गरी राष्ट्रिय सभा चुनावमा साझा उम्मेदवार तय गर्ने निर्णय गरेको थियो । सरकारबाट सिफारिस भई राष्ट्रपतिबाट मनोनीतसहित २० सदस्य रिक्त हुने भएपछि माघ ११ गते चुनाव तोकिएको छ ।

आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update