भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल भ्रमणमा आएका छन् । ‘सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल भ्रमणमा आएका हुन् । जयशंकरको स्वागतका लागि परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साललगायतका अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
बिहान १० बजे काठमाडौंमा उत्रिएका उनले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । त्यहाँबाट उनी प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
बालुवाटारबाट उनी परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुन होटल याक एन्ड यती पुग्नेछन् । बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री साउद र भारतको तर्फबाट विदेशमन्त्री जयशंकरले नेतृत्व गर्नेछन् । जहाँ उनको भेटवार्ता समकक्षी साउदसँग हुनेछ । बैठकमा सहभागी हुन भारतबाट विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तवलगायतका अधिकारी पनि आएका छन् । त्यसपछि आयोगको बैठकमा सहमतिमा हस्ताक्षर कार्यक्रम हुनेछ ।
विदेशमन्त्री जयशंकरले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने छन् । बेलुकी ६ बजे परराष्ट्रमन्त्री साउदले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।
शुक्रबार बिहान पशुपतिनाथको दर्शन गरेर दूतावासको कार्यक्रममा सहभागी हुँदै दिउँसो १२ बजे उनी नयाँदिल्ली फर्कनेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को दिल्ली भ्रमणमा भएको समझदारीअनुसार नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने भएको छ । सम्झौतासँगै १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातको बाटो खुल्नेछ । नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा समीक्षा गर्न सन् १९८७ मा संयुक्त आयोग गठन गरिएको थियो ।