राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिटको टुंगो लागेको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभाका १९ सिट बाँडफाँट टुंग्याएको हो ।
राष्ट्रिय सभामा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३-३ गरी ९, कोशी, मधेश र लुम्बिनीबाट २-२ गरी ६ समेत १९ सीटका लागि निर्वाचन हुँदैछ ।
जसमा बागमती, गण्डकी र सुदूरपश्चिममा २/२ गरी ६, कोशी, मधेश, लुम्बिनी र कर्णालीमा १/१ सीट कांग्रेसले १० सीट पाएको छ ।
माओवादीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णालीमा र सुदूरपश्चिममा १/१ गरी ६ सीट पाएको छ भने तीन सीट दाबी गरेको नेकपा एकीकृत समाजवादीले बागमती र कर्णालीमा १/१ सीट प्राप्त गरेको छ । तर, ३ सीट दाबी गरे पनि २ सीट मात्रै पाएपछि नेकपा एसले असन्तुष्टि जनाएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीले मधेसमा १ सीट पाएको छ ।
राष्ट्रियसभाको मतदान माघ ११ गते हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । जसको लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ ।