नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने भएको छ ।
आज बिहान बसेको नेपाल विद्युत् प्राधिकरण संचालक समितिको बैठकले काटिएका उद्योगको लाइन जोड्ने निर्णय गरेको हो । बैठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो ।
बक्यौता बिल बारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव सदस्य रहने तीन सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ । यसअघि मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । प्राधिकरणले ५ करोडभन्दा बढी बक्यौता रहेका २४ कम्पनीहरुको लाइन काटेको थियो ।
डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मङ्सिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको प्राधिकरणको भनाई छ ।