राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन गठबन्धन दलका शीर्ष नेताहरूले साझा अपिल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले आफ्ना उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै संयुक्त अपील जारी गरेका हुन् ।
आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सिटका लागि सातै प्रदेशमा निर्वाचन हुँदैछ । यो निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता हुन्छन् । सबै मतदाता राजनीतिक दलकातर्फ बाटै निर्वाचित भएका हुने भएपनि गोप्य मतदान हुने भएकाले गठबन्धनले निर्वाचन परिचालनलाई विशेष महत्व दिएको छ ।
शनिबार बसेको गठबन्धनका नेता रमेश लेखक संयोजकत्वकोे निर्वाचन समन्वय समितिले शीर्ष नेताहरूलाई सार्वजनिक अपिल गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।
यसपटक निर्वाचन हुन लागेका १९ सिटमध्ये गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका छन् ।