न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी छन् । श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी गिरीले आइतबार सर्वोच्च परिसरमा न्यायको माग गर्दै आत्मदाहको प्रयास गरेकी हुन् । उनले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने प्रयास गरेकी हुन् ।
तत्काल प्रहरीले उनलाई उद्धार गरेर नियन्त्रणमा लिएको छ । प्रधान न्यायाधीश विश्वम्भर श्रेष्ठ सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन् ।
भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल खन्याइन् र आगो सल्काउन खोजिन् तर नजिकै रहेका प्रहरीले त्यसो गर्न दिएनन् । त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ । उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् ।
यसअघि जिल्ला अदालत काठमाण्डुमा उनले श्रीमान्माथि जुत्ता प्रहार गरेकी थिइन् ।