NRN
ट्रायलका लागि परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरूलाई निर्देशन

राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) का लागि परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरूलाई निर्देशन दिएको छ । ट्रायल दिने परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र सो कार्यान्वयनको जानकारी केन्द्रलाई उपलब्ध गराउन निर्देशन दिएको हो ।

परीक्षार्थीहरूले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसबापत प्रशिक्षण केन्द्रहरूले मनोमानी शुल्क उठाउने गरेको भन्ने उजुरीपछि सतर्कता केन्द्रले सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेख्दै उक्त निर्देशन दिएको हो ।

केन्द्रले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लगायत कुनै पनि नेपाल कानुनमा परीक्षार्थीहरूले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने कुनै किसिमका बाध्यात्मक व्यवस्था उल्लेख नभएको बताएको छ।

उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक कार्यालयलाई समेत दिइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update