उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई कसैको पनि दबाब र प्रभावमा नपरी अपराध अनुसन्धानमा खरो उत्रिन निर्देशन दिएका छन् ।
अपराध अनुसन्धान विभागले सोमबार काठमाडौँमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा गृहमन्त्री श्रेष्ठले भने, ‘अपराध अनुसन्धानमा खरो उत्रिन नेपाल प्रहरीलाई आवश्यक पर्ने सबै खाले पूर्वाधार तयार गर्न सरकार प्रतिबद्ध छ । साथै, कसैको दबाब र प्रभावमा नपरी अपराधीलाई दण्डित गर्ने उदेश्यले अपराध अनुसन्धान गर्न समेत म नेपाल प्रहरीलाई निर्देशन दिन्छु ।’
गृहमन्त्री श्रेष्ठले अपराध अनुसन्धानमा मानव अधिकारको सम्मान गर्न र निर्दोष नागरिकलाई झन्झट नदिनसमेत आग्रह गर्दै उनले भने, ‘अपराध अनुसन्धानमा कुनै पनि राजनीतिक प्रभाव र दबाब छैन । त्यस्तो प्रभाव र दबाबबाट मुक्त भएर प्रहरीले अनुसन्धान गर्नुपर्छ, गर्नुहोस् । यदि कसैले दबाबमा पार्न खोज्छ भने दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रक्रियामा त्यस्ता प्रहरी अधिकारीको रक्षाका लागि गृह मन्त्रालय सदैव तयार छ ।’
गृहमन्त्री श्रेष्ठले प्रहरीको सुरुवाती अनुसन्धानले नै जनताले न्याय पाउने वा नपाउने भन्ने निर्क्योल गर्ने भएकाले अपराध अनुसन्धानमा कुनै कमजोरी नगर्न समेत आग्रह गरे ।