प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई सो पत्र बुझाएका हुन् ।
गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको मध्यपाहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री 'प्रचण्ड' लाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।पदयात्राका क्रममा आएका माग, देखिएका समस्यालाई वर्गीकरण गरेर सरकारलाई बुझाएको हो । जसमा ७५१ वटा माग रहेका छन् । सडक, कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएका छन् ।
ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यी सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको बताए । प्रधानमन्त्री प्रचण्डले ती सुझावहरु दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई ताकेता गर्ने जानकारी दिएको पनि ज्ञवालीले बताए । ध्यानाकर्षण पत्रमा मध्यपहाडी राजमार्गको अनलाइनमेन्ट परिवर्तन गर्नुपर्ने, मध्य पहाडमा देखेका विकासका सम्भावना लगायतका विषयहरु उल्लेख छन् । यी विषय कार्यान्वयनको पहलका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकिएको छ ।
आफूहरूले प्रधानमन्त्रीलाई बुझाएका माग एमालेको मात्र नभएर सबै जनताको भएकाले कार्यान्वयन गर्न आग्रह गरेको छ । जवाफमा प्रधानमन्त्रीले माग अधिकतम कार्यान्वयन गर्ने वचन दिएका छन् ।