राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । राष्ट्रियसभाको रिक्त हुन लागेका १९ सदस्यका लागि निर्वाचन आयोगको तालिकाअनुसार आज बिहान ९ बजेबाट मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदानमार्फत आगामी फागुन २१ देखि रिक्त हुन लागेका राष्ट्रियसभाका १९ सांसद चयन गर्नेछन् ।
निर्वाचन आयोगका अनुसार, निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।
राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ ।
हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेका छन् । आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ ।
गण्डकी प्रदेशबाट चुनिने तीन सदस्यका लागि पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा रहेका दुई मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । त्यस्तै, बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त चार सदस्य पदको लागि मतदान जारी रहेको छ ।
स्थानीय भुटनदेवी माविको भवनको क मतदान केन्द्रमा प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईले पहिलो मतदान गरेका थियो । उक्त भवनमा मतदान केन्द्र ९क० मा प्रदेशसभाको लागि र ९ख० मा स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि मतदानस्थलको प्रबन्ध मिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए ।
त्यस्तै, लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी रहेको छ। घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरि मतदानको सुरुआत भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए। लुम्बिनी प्रदेशमा अन्य र महिला गरी दुई सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ ।
कोशी प्रदेशमा राष्ट्रियसभाका दुई सदस्य निर्वाचनको मतदान जारी रहेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० मा प्रदेशसभा सदस्य एवं पालिकाका प्रमुख एवं उपप्रमुखले मतदान भाग लिइरहेका छन् ।
मतदान कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिए । प्रदेशमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ छ ।