NRN
लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई भगाउने प्रहरीका पूर्व जवान १६ वर्षपछि पक्राउ

लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई भगाएको आरोप लागेका प्रहरीका पूर्व जवान १६ वर्षपछि पक्राउ परेका छन् ।

१६ वर्षअघि हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका अशरफ आलमलाई भगाएको आरोप लागेका प्रहरीका रौतहट घर भएका पूर्वजवान वीरबल राय यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार काकडभिट्टाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

हिरासतबाट आरोपी भगाएपछि यादव पनि फरार भएका थिए । फरार भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो ।

कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार जेलबाट भगाउन यादवले त्यतिबेला अशरफसँग १ करोड रूपैयाँ मागेका थिए । पछि १० लाखमा कुरा मिलेपछि यादवले उनलाई हिरासतबाट भगाएका थिए । भगाएपछि भने अशरफले ती प्रहरी जवानलाई ६ लाख २५ हजार रूपैयाँ मात्रै दिएको एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।  

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update