सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यले दलको नेता फेर्ने निर्णय गरेका छन् ।माओवादी केन्द्रका बहुमत प्रदेश सांसदले खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाएका हुन् ।
शुक्रबार धनगढीमा बसेको संसदीय दलको बैठकको दुईतिहाइ बहुमतले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट भट्टलाई हटाएको प्रदेशसभाका सांसद अक्कल रावलले जानकारी दिए ।
उनले भने, ‘आज बसेको दलको बैठकमा मतदान हुँदा भट्टको पक्षमा चार र मानबहादुर धामीको पक्षमा ७ मत पर्यो । धामी दुईतिहाइ मतबाट दलको नयाँ नेता चयन हुनुभयो ।'
नयाँ संसदीय दलका नेता धामी दार्चुलाबाट निर्वाचित हुन् । उनी पहिलो कार्यकालमा वनमन्त्री पनि बनेका थिए ।
सुदूरपश्चिममा माओवादी अहिले २ मन्त्री र १ राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ । मुख्यमन्त्री बन्ने लाइनमा रहेका भट्टलाई दलको नेताबाट नै हटाइएको छ ।