प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन् । सोमबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ ले उक्त कुरा बताएका हुन् ।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसीको महसुस भएको बताउँदै ‘प्रचण्ड’ ले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रस्ट मान्यता छ । यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।”
प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए ।
'प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ,' उनले भने ।
आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार, दक्ष र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।