NRN
आज शहीदहरूका सपना पूरा गर्न सङ्कल्प गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको दिन शहीदहरूले देखेका सपना र उनीहरूले गरेको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् । शहीद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । 

‘प्रचण्ड’ ले भने, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहीदहरूले उच्च बलिदान गर्नुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।”

शहीदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने जनाउँदै प्रधानमन्त्रीले शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे । उनले जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ मा आफ्नो जीवनको बलिदान गर्ने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतका शहीदको स्मरण र सम्मान गरे ।

 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update