प्रधानमन्त्री कपमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेकाे छ । मंगलबार भएकाे खेलमा एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेकाे हाे ।
एपिएफको १० अंक छ भने आर्मीको १२ अंक छ । शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लब १४ अंक जोडेर दुई खेलअघि नै फाइनलमा पुगिसकेको छ ।
सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको लक्ष्य एपीएफले १४ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।
एपीएफका लागि सन्दीप जोराले १८ रन बनाए भने आशिफ सेखले १५, भुवन कार्कीले १४, प्रदीप ऐरीले १२ तथा लोकेश बमले ६ रन बनाए । सुदूरपश्चिमका दिपक चन्दले ४ विकेट लिँदा नरेन साउदले ३ विकेट लिन सफल भए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १६.२ ओभरमा ८७ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि नारायण जोशीले नटआउट ३१ रन बनाए । अरु ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा एपिएफमा डेब्यू गरेका चन्दन रामले ५ विकेट लिए । भुवन कार्कीले ३ विकेट र रोहित पौडेलले २ विकेट लिन सफल भए ।