प्रतिनिधिसभाका सांसद वसन्तकुमार नेम्वाङ आकस्मिक बिरामी परेका छन् ।
एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ पूर्वमन्त्री नेम्बाङ हिजो दिउँसो बिरामी परेपछि ताप्लेजुङ अस्पतालमा उपचार भइरहेको थियाे । नेम्वाङलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै छ । पाँचथर जिल्लाबाट निर्वाचित सांसद नेम्वाङ एमाले ताप्लेजुङका इन्चार्जसमेत हुन्।
एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तथा पूर्वसांसद घनश्याम खतिवडाका अनुसार बिहान फिदिमबाट हिँडेका नेम्वाङसहितका नेता पाथीभरा गेस्टहाउसमा भेला भएका थिए । सोही वेला उठ्ने तरखर गर्दागर्दै नेम्वाङ ढलेका थिए । ढलेपछि उनलाई नजिकैको तमोर अस्पतालमा प्रारम्भिक परीक्षणपछि जिल्ला अस्पताल लगिएको थियो ।
जिल्ला अधिवेशनसहितका विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक बोलाइएको थियो । सोही बैठकका लागि नेम्वाङसहितका एमाले नेता ताप्लेजुङको फुङलिङ आइपुगेका थिए ।