त्रिवि शिक्षण अस्पताल महाराजगंजमा नेपालमै पहिलोपटक नेपाली चिकित्सककै अगुवाईमा कलेजो प्रत्यारोपण गरिएको छ ।
त्रिविका चिकित्सकहरुले पहिलोपटक नेपाली डाक्टरले सर्जन डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वमा कलेजो प्रत्यारोपण गरेका हुन् । डाक्टर भण्डारी नेतृत्वको नेपाली चिकित्सकहरुको टिमले गत पुस २७ मा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो ।
ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । यसअघि नेपालमा हुने कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकहरुले सघाउँदैं आएका थिए । तर, नेपाली चिकित्सककै अगुवाईमा नेपाली चिकित्सक टिमले विदेशी चिकित्सकको सहयोगबिना गरेको यो पहिलो कलेजो प्रत्यारोपण हो ।
कलेजो दान गरेकी ४० वर्षीय महिला १० दिनमा डिस्चार्ज भएकी थिइन् । कलेजो प्रत्यारोपण गरिएका बिरामीलाई भने २० दिनमा बिहीबार डिस्चार्ज गरिने डाक्टर भण्डारीले जानकारी दिए ।
डाक्टर भण्डारीले आफू यो ऐतिहासिक अवसरमा प्रमुख प्रत्यारोपण सर्जनको भूमिका निभाउन पाएको गौरवको अनुभूति भएको उल्लेख गरेका छन् । डा भण्डारीले यो उपलब्धिमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि कर्मचारीहरुको ठूलो साथ र सहयोग रहेको बताए । उनले अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्नका लागि तत्कालिनक स्वास्थ्यमन्त्री गगनकुमार थापाले गरेको सहयोगको पनि खुलेर प्रशंसा गरे ।
यसअघि त्रिवि शिक्षण अस्पतालमा विदेशी विशेषज्ञको सहयोगमा १० वटा सफल कलेजो प्रत्यारोपण भइसकेका छन् ।