नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल भएको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफल सकेर बाहिरिएपछि अध्यक्ष ओलीले पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
‘समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा कुरा भएको हो । विधेयक (टिआरसी) बारे छलफल भइराखेको छ, त्यसबारे पनि कुरा भएको छ,’ अध्यक्ष ओलीले भने, ‘विधेयकलाई राम्रोसँग मिलाएर छिट्टै टुंग्याऔं भन्ने कुरा भएको छ।’
सरकारले बहुमतबाट विधेयक पास गर्ने भनिरहेकोबारे पत्रकारको जिज्ञासामा ओलीले टीआरसीमा एमालेले लिएको अडान कायमै रहेको छ । ‘हाम्रो अडान यथावत् नै छ’, अध्यक्ष ओलीले भने, ‘बहुमतले किन पास गर्नुपर्यो ? राम्रो बनाएर सहमतिले पास गरे भैगो नि !’