परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद आज अष्ट्रेलिया जाँदैछन् । पर्थमा हुने सातौं हिन्द महासागर सम्मेलनमा भाग लिनका लागि परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जान लागेका हुन् ।
मन्त्री साउदसँग उनकी श्रीमती ज्योत्सना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीसहित आज साँझको फ्लाइटमार्फत त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार मन्त्री साउदले फेब्रुअरी १० मा सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनकै क्रममा उनले अष्ट्रेलियाका विदेशमन्त्री पेनी ओङसँग द्विपक्षीय भेटवार्ता गर्नछन् ।
उनी अष्ट्रेलियाबाटै न्यूजिल्याण्ड जानेछन् । परराष्ट्र मन्त्रालयका अनुसार १४ फेब्रुअरीमा न्युजिल्याण्डको विदेश मन्त्री विन्सटन पिटर्स र मन्त्रालयका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।
परराष्ट्रमन्त्री साउद १५ फेब्रुअरीमा स्वदेश फर्कनेछन् ।