NRN
अर्थतन्त्र महतको दाबी बेथितिमा चलेको बजेटरीलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको बताएका छन् । इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण बताउँदै बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने भएकाे बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्र बिस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसैले मलाई लाग्छ । बजेटलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ । रड, डन्डी, सिमेन्ट पनि बिक्री भयो । तर बनिसकेपछि त्यसले दुध दिन छोड्यो । आवश्यकता भन्दा ठूला संरचनाहरु अनुत्पादक र गैरप्राथमिकताको क्षेत्रमा खर्च भयो । अनि धेरै बहुवर्षिय घोषणाहरु भए । त्यसकारण यस्तो बेथितिबाट हाम्रो बजेटरी सिस्टम गएको थियो, त्यसलाई अनुशासनमा ल्याउने काम शुरु भएको छ । वाह्य क्षेत्र अत्यन्त सकारात्मक छन्, हिजो श्रीलंका हुन्छ के हुन्छ भन्थे ।’ 

अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताए । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनेहरुका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरुले ऋण तिर्नुपर्ने बताए । केही मानिसहरु राजनैतिक निहीत उद्देश्य लिएर तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर भएको टिप्पणी गरे । अहिले सहकारीको रुप नै नरहेको जिकिर गरे । अनुगमन नभएकै मौका उठाएर केही सञ्चालकहरुले दुरुपयोग गरेको बताए ।

अर्थमन्त्री महतले बैंकको जस्तो कारोबार गर्ने वित्तीय संस्थाहरु सहकारी हुन नसक्ने बताए । ठूलो कारोबार गर्ने सहकारीहरुलाई राष्ट्र बैंकको मातहतमा ल्याइने बताए । सहकारी मर्ज गर्ने हो भने राष्ट्र बैंकको वित्तीय संस्थाको रुपमा जानुपर्ने जानकारी दिए ।

अर्थमन्त्री डा. महतले आफूले आएर काम गरेपछि सेयर मार्केट १८ सयबाट अहिले २१ सय भन्दा माथि पुगेको दाबी गरे ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update