सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडले १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ को अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ । सभामा अध्यक्ष सोमनाथ अधिकारीले अस्पतालले दिने सेवालाई आगामि दिनमा विस्तार र स्तरोन्नति गरिने बताए । अस्पतालमा प्याथोलोजी र मृगौला डाइलासिस सेवाको योजना रहेको उनले बताए । सहिदका सम्मानित नाममा संचालित यस सहकारीले सहकारी क्षेत्रमा देखिएका केहि विकृति, विसङ्गतीहरु हटाउदै समाज, राष्ट्र र शेयर सदस्यहरुप्रती उत्तरदायी रूपमा कार्य गर्ने प्रतिबद्धता उनले जनाए ।
अहिलेको आर्थिक मन्दी र विद्यमान सहकारी ऐन, नियम स्वास्थ्यसहकारी मैत्री नरहेको परिस्थितिमा काम गर्न सजिलो नभए पनि अप्ठ्यारासङ्ग जुधेर काम गर्न तयार रहेको उनले बताए ।
आ. व. २०७९/८० असार मसान्तसम्ममा सहकारीमा शेयर पूँजी रु.३ करोड २ लाख ६ सय र सदस्य संख्या ४०३ जना रहेको छ । सामाजिक सेवाभावले स्थापित यस स्वास्थ्य सहकारीले हाल १०० शैयाको आधुनिक र सुविधा सम्पन्न सहिद मेमोरियल अस्पताल ( कलंकी ) र सहिद स्मारक जनस्वास्थ्य कलेज (सिफल) बाट स्वास्थ्यसम्बन्धि विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको छ। संस्थाले वार्षिक रूपमा देशका विभिन्न ठाँउमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ।
साधारणसभाले समिक्षा आ.व. को वासलात, लेखा र सुपरिवेक्षण प्रतिवेदन, नाफानोक्सान हिसाब, नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।
कार्यक्रममा संस्थामा दिएको योगदानको कदरस्वरुप अस्पताल व्यवस्थापन समितिका सदस्यसचिव डा. दिपक श्रेष्ठ लगायत अस्पताल र सहकारीका कर्मचारीहरुलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो ।