NRN
प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय, घरघरमा दिप प्रज्वलन गर्न आग्रह

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यतापूर्वक मनाउने निर्णय गरेको  छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षतामा आज बिहान सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन प्रजातन्त्र दिवस भव्यताका साथ दिवस मनाउने निर्णय गरेको हो ।

आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने बैठकको निर्णय छ । सोही दिन राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क/ स्मारिका प्रकाशन एवम् प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै, सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ/संस्थाका कार्यालयका छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादा पूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवम् घरघरमा दीप प्रज्ज्वलन गर्ने बैठकको निर्णय छ । 

दिवसको दिन फागुन ७ गते नेपाली सेनाबाट सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै विगुल बजाउने तथा तोप र बन्दुकको बढाईं गरिने छ । सोही दिन सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकीत व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । फागुन ७ गते नै सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक मूल समारोह आयोजना हुने छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update