NRN
अर्थ मन्त्रालयले आज बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने

अर्थ मन्त्रालयले आज बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार दिउँसो ३ः३० बजे समीक्षा रिपोर्ट (प्रतिवेदन) सार्वजनिक गर्न पत्रकार सम्मलेनको आयोजना गर्दैछ ।

सामान्यतया सरकारले ल्याउने वार्षिक खर्च र स्रोतको अनुमान अर्धवार्षिक समीक्षामार्फत संशोधन हुने गरेको छ । यसपालि पनि सरकारले चालू आर्थिक वर्षको आय–व्ययको अनुमान घटाउने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।

मूल्यांकन प्रतिवेदनमा राजस्व, खर्च, वैदेशिक अनुदान तथा ऋणको अनुमान, प्राप्ति तथा परिचालनको यथार्थ विवरण, सरकारको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति र सरकारको नीति तथा बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयनको अवस्था उल्लेख गर्ने व्यवस्था छ । 

अरू मन्त्रालयहरूले तयार गरेको आफ्नो मन्त्रालय र मातहतका कार्यालयको बजेट तथा कार्यक्रम मूल्यांकन प्रतिवेदन अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने मितिभन्दा कम्तीमा १५ दिनअगावै तयार गरी पठाउन उल्लेख छ ।

चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसका लागि १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख राजस्व उठाउने लक्ष्य राखिएको छ । ६ महिना बित्दा सरकारले ३२.३५% खर्च भएको छ भने ३४.९% राजस्व संकलन भएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update