एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा एकदिवसीय खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो ।
क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरे । उनी ५० रन बनाएर आउट भए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट भए । कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।
बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । ८ ओभर बलिङ गरेका हेमन्तले ४९ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिए ।
फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग-२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग खेलेको हो । यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज कब्जा गरिसकेको छ ।