एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा नेपाली महिला टोलीले माल्दिभ्सविरूद्ध कीर्तिमानी जित निकालेको छ । मलेसियामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले २१४ रनको कीर्तिमानी जित हासिल गरेको हो ।
नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङ्गमा नेपालले यो जित हासिल गरेको हो । जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपाल २१४ रनले विजयी भयो । जितसँगै नेपाल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
समूह डीमा नेपाल ३ खेलबाट ६ अंक जोडेर विजेता बन्यो । लगातार ३ जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले यसअघि शनिबार हङकङलाई ८ विकेट र आइतबार भुटानलाई पनि ८ विकेटले नै पराजित गरेको थियो । दुई खेल जितिसक्दा नेपाल यसअघि नै अन्तिम आठमा पुगिसकेको छ । आजको खेल जितेसँगै नेपाल समूह विजेताको रूपमा अन्तिम आठमा पुगेको छ ।