गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ ।
म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । दुवैजना गत १० माघमा पक्राउ परेका थिए ।
यसअघि दुई फरक–फरक भ्रष्टाचार मुद्दामा परेका विकल र सुनिल माथि गैरकानूनी सम्पत्ति आर्जन गरेको, विदेशमा कमिसन लुकाएको लगायतका आरोप छन् ।
२०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरूद्ध २३ करोड २७ लाख ५८ हजार रूपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । त्यस्तै, २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरूद्ध करिब ७० करोड रूपैयाँ मागदाबीसहित अख्तियारले दर्ता गरेको थियो । मुद्दा दर्तापछि दुवै निलम्बनमा छन् ।