आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । गुल्सन झा २१, करण केसीले १६, कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १, कुशल भुर्तेल शून्य रनमा आउट भए ।
पहिलो ओभरको पहिलो बलमा विकेट गुमाएको नेपालले इनिङ भर नै लामो साझेदारी गर्न सकेनन् । नामिबियाको बलिङसामु नेपालका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् ।
नामिबियाका लागि कप्तान जेरार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए । ८ ओभर १ बल बलिङ गरेको एरास्मसले २८ रन खर्चेर सर्वाधिक ५ विकेट लिन सफल भए । रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २–२ तथा निकोल लोफ्टि–इटनले १ विकेट लिए ।
आजबाट सुरु भएको त्रिदेशीय शृंखलामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्स सहभागी छन् । आजको खेलपछि नेपालले फेब्रुअरी १७ मा नेदरल्यान्ड्ससँग, २१ फेब्रुअरीमा पुनः नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।