अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ऐनको अवस्था बमोजिम अर्थ वार्षिक समीक्षा मात्र गरिएको तर खर्च कटौती भने नगरिएको बताएका हुन् ।
बजेटको मध्यावधि मूल्यांकन गर्दै अर्थ मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब कम बजेट खर्च हुने आकलन गरेको थियो ।
सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट विनियोजन गरेकोमा मध्यावधि समीक्षामा १५ खर्ब ३० अर्ब रूपैयाँको बजेट खर्च हुने अनुमान गरेको छ । त्यस्तै, बजेटको क्रममा १४ खर्ब २२ अर्बको राजस्व संकलन हुने अनुमान गरिएकोमा मध्यावधि मुल्यांकनबाट १२ खर्ब तीन अर्ब रूपैयाँ राजस्व उठ्ने आकलन गरिएको छ ।
अर्थमन्त्री महतले अहिलेसम्म उठेको राजस्वको आधारमा उठ्न सक्ने राजस्व र खर्च हुन सक्ने बजेटको आकलन मात्रै गरिएको बताए ।
अर्थमन्त्री महतले भने, ‘सकेजतिको खर्च गर्ने हो, सकेजति राजस्व उठाउने हो, बजेट कटौती गरिएको छैन ।’