NRN
मन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा एमाले सचेतक महेश बर्तौला र रास्वपा सभापति रवि लामिछानेले सरकारी छानबिन समितिले नै दोषी देखाएका मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका हुन् ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै एमाले र रास्वपाले विरोध जनाएका हुन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेकपा एमाले र रास्वपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले एमालेका सचेतक महेश बर्तौलालाई समय दिएका थिए ।

'प्रतिवेदनको निष्कर्ष निस्कियो, भौतिक मन्त्रीको लापरबाहीका कारणले गर्दा दुई जनाको मृत्यु भयो र करोडौंको सम्पत्ति क्षति भयो । सरकारका मन्त्री दोषी भनेको ३० घण्टा बितिसक्दासमेत मन्त्री पदमा बहाल हुनुहुन्छ,' बर्तौलाले भने, 'सिपाहीलाई डण्डा मन्त्रीलाई झन्डा ? सम्बन्धित मन्त्रीलाई पदमुक्त गरियोस् । घटनामा जोडिएका सम्बन्धित मन्त्रीलाई जिम्मेवारीबाट हटाइयोस्, बर्खास्त गरियोस् ।'

रास्वपाका सभापति रवि लामिछानेले पनि उक्त घटनामा दोषी भनिएका मन्त्री ज्वालालाई कारबाही गर्न माग गरेका छन् । प्रमाण हुँदा पनि कारबाही नगर्दा सुशासन नरहेको उनको भनाइ थियो । उनले दुई युवाको मृत्यु भएको घटनामा प्रतिवेदनले दोषी देखाएका मन्त्रीलाई के गर्ने भन्ने जवाफ दिनुपर्ने माग गरेका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुको प्रश्नोत्तरको कार्यसूची छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update