राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ शङ्खरापुर नगरपालिकास्थित शालीनदीकाे दर्शन गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा उनले आज बिहान दर्शन गरेका हुन् ।
दर्शन गर्ने क्रममा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवम् पूजा, अर्चनाका साथै उनले शालीनदीमा जल अभिषेक गरे । उनले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवम् पूजा अर्चना गरे ।
राष्ट्रपति पौडेल शालीनदी पुग्दा उनलाई सांसदद्धय सोविता गौतम र प्रतिमा गौतम, नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, नगर प्रमुख, उपप्रमुख, माधवनारायण मेलाका संयोजक बालकृष्ण श्रेष्ठलगायत स्थानीयवासीले स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुसीको विषय भएको बताए ।
उनले भृकुटी र स्रङचङ गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवम् ऐतिहाकिस महत्व बाेकेकाे शाली नदी क्षेत्रको विकासको लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे । सांसद र नगरप्रमुख एवम् उपप्रमुख लगायतका जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भएपनि बज्रयोगिनी मन्दिर भग्नावशेषको अवस्थाका रुपमा रहेको, शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुननिर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गर्दै उनीहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुनःनिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास समेत व्यक्त गरे ।