प्रहरीले चितवनमा ५ सय ४२ किलो गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ८ बजे राप्ती-३ स्थित पूर्व-पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा लुकाइएको ५ सय ४२ किलो गाँजा बरामद गरिएको हो ।
शंकास्पद अवस्थामा रोकिराखेको देखेपछि दुबै ट्रकको चेकजाँच गर्दा ३० वटा पोका ठूलो परिमाणमा गाँजा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सिसाका बोतल बोक्ने ट्रकले धादिङको मलेखुबाट लोड गरेर ल्याएको गाँजा झुरझुरेमा डिब्बा ट्रकमा पल्टी गरिएको थियो । प्रहरीले बरामद भएको गाँजा धादिङ, मकवानपुर र चितवनका पहाडी क्षेत्रमा उत्पादन गरिएको हुनसक्ने बताएकाे छ ।
प्रहरीले डिब्बा ट्रकका चालक धनकुटा छथर जोरपाटे-३ का ३२ वर्षका रमेशनाथ दाहाल र अर्को ट्रकमा सवार कपिलवस्तु बुद्धभूमि-४ का २५ वर्षीय खुशीराम थारूलाई पक्राउ गरेको छ । ट्रकका चालक फरार छन् ।