NRN
बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने नवनियुक्त श्रममन्त्री अर्यालको प्रतिबद्धता

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले रोजगारीका लागि बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मंगलबार मन्त्रालयमा पदभार ग्रहणगरेपछि नवनियुक्त श्रममन्त्री अर्यालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले स्वदेशमा भनेजस्तो काम नपाएपछि आफ्ना घरपरिवार पाल्नका लागि सामान्य आम्दानी गर्न पनि बिदेसिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने दाबी गरे । रोजगारीका लागि बिदेसिनु नै पर्ने अवस्था रहेमा त्यस्ता व्यक्तिको आत्मसम्मान र सुरक्षाको प्रत्याभूति सरकारले गर्ने उनले बताए ।

आफू काममा विश्वास गर्ने व्यक्ति भएकाले गर्नेमा नै विशेष जोड दिने बताउँदै मन्त्री अर्यालले भने, ‘काम गरेरै त्यसलाई चिर्ने हो । यो जिम्मेवारीमा चुनौती छ र त्यसको सामना गरेर नतिजा निकाल्न सकिन्छ । यस मन्त्रालयमा धेरै काम छन् । म काम गर्न आएको हुँ । आफ्नो काम इमानदारीपूर्वक पूरा गर्छु ।’

उनले सबैभन्दा पहिले आफूले स्वदेशमा रोजगारी सिर्जना गर्न केके गर्नुपर्छ भनेर त्यसमा लाग्ने, त्यसका लागि मातहतका विभाग, बोर्डलगायतबाट अध्ययन गरेर दूरगामी नीतिगत परिमार्जन गरी स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ अघि बढ्ने बताए ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि नयाँ श्रममन्त्रीसँग केही आशा गरेका होला होलान् भन्दै मन्त्री अर्यालले आफूले यो जिम्मेवारीमा बसेपछि अवश्य पनि सबै नेपालीको साझा मान्छे हुनेगरी काम गर्ने र सबैको हितका लागि काम गर्ने बताए । 

स्वदेशका बेरोजगार जनशक्तिलाई रोजगारी दिन र विदेशमा रहेकाको समस्यालाई अध्ययन गराएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्वदेशमा जागिर नपाएर बिदेसिनुपर्ने अवस्था अन्त्यका लागि आफू निकै गम्भीर भएको बताए । बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्यका लागि सरकारले देखिने काम गर्छ भन्दै उनले विदेश जानैपर्नेका लागि उनीहरूको आत्मसम्मान र सुरक्षाको प्रत्यभूति सरकारले दिने दाबीसमेत गरे ।

मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष एवं समानुपातिक सांसद अर्याल श्रममन्त्री भएका हुन् । पदबहाली गर्नुअघि नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका थिए ।  

श्रममन्त्रीको शपथपछि मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले विदेश जाने अवस्था शून्यमा पु¥याउने लक्ष्यकासाथ काम गर्ने बताए । सरकारको प्रमुख प्राथमिकता बाध्यकारी वैदेशिक रोजगारी अन्त्य नै रहेको उनको भनाइ थियो । 
मन्त्री अर्यालले नेपालीलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पु-याउने दाबी गरे । अर्यालले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास सम्भव नहुने पनि ठोकुवा गरे ।  

स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको भन्दै उनले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने बताए । दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था रहेकोबारे आफूले पनि देखेको बताउँदै मन्त्री अर्यालले त्यसको निराकरण नै आफ्नो प्रमुख उद्देश्य रहेको दाबी गरे ।  

उनले अब आफूले यस मन्त्रालयमा बसेर विदेशी कूटनीतिक निकायसँग समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना हुनेखालको काम गर्ने समेत बताए । आफैं धेरै वर्ष विदेशमा बसेर अनुभव सँगालेका मन्त्री अर्यालले आगामी दिनमा यस क्षेत्रमा धेरै परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update