NRN
महिला, बालबालिका र जेष्ठ नागरिकका सवालमा देखिने गरी काम गर्छु : भगबती चौधरी

काठमाडौं। महिला, बालबालिका तथा जेष्ठ्य नागरिक मन्त्री भगबती चौधरीले महिला, बालबालिका र जेष्ठ्य नागरिकका हक अधिकार संस्थागत गर्न तथा उनीहरुको सुरक्षणका लागि विशेष काम गर्ने बताएकी छिन् । आज राष्ट्रपति निवासमा मन्त्री पदको सपथ लिएसँगै मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले महिलालाई राज्यका सबै क्षेत्रमा समान पहुँच स्थापित गर्न, ग्रासरुटबाटै बालबालिकाहरुको वृत्ति विकास गर्न र बालअधिकार प्रत्याभूत गर्न ठोस योजना लिएर आउने बताइन् । 

सरकारका मन्त्रालयहरुमा कम महत्वको मन्त्रालयका रुपमा विगतमा हेरिएपनि आफ्नो कार्यकालमा उदाहरणीय मन्त्रालयका रुपमा परिचित गराउने र जनताले परिवर्तनको महशुष गर्ने गरी काम गर्ने मन्त्री चौधरीले जिकीर गरिन् । ‘महिला, बालबालिका तथा जेष्ठ्य नागरिक आफैंमा संवेदनशील विषय भएकाले जनस्तरमै पुग्ने गरी काम गर्नका लागि म ठोस योजनाहरु बनाउने छु, मलाई यहाँका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी साथीहरुको साथ र सहमर्थन रहनेमा म पूर्ण विस्वस्त छु ।’ चौधरीले बताइन् । 

 पदभार ग्रहण गर्दै मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिमरुप दिन समिति गठन गरी कार्य अघि बढाउने पहिलो निर्णय पनि गरेकी छिन् ।

‘मुलुकको आधाभन्दा बढी जनसङ्ख्या महिला भएपनि सहभागिता न्यून रहेकाले सहभागितालाई नीतिगत व्यवस्था गरी स्थानीय सरकारबाट कार्यान्वयनमा जोड दिनेछु । महिला हिंसा न्यूनीकरण गर्न पहल गर्नेछु।’ चौधरीले भनिन् । 

उनले मन्त्रालयमा न्यून काम हुन्छ भन्ने दृष्टिकोणलाई परिवर्तन गरी महिला हिंसा न्यून गर्न पहल गर्ने, बालबालिका र जेष्ठ्य नागरिकका सवालमा विभिन्न तह र तप्कामा समानता कायम गर्न पहल गर्ने जनाईन् ।

राज्यले दिने सेवासुविधा, वृद्धभत्तालाई निरन्तरता दिई ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई सामाजिक तथा धार्मिक विकासका कार्यमा उपयोग गरी उनीहरुको जीवनयापनलाई सहज, सुरक्षित र मर्यादित बनाउन अघि बढ्ने मन्त्री चौधरीको धारणा छ । 

सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य मन्त्री चौधरीयसअघि २०६५ सालमा वन तथा भूसंरक्षण राज्यमन्त्री भएको अनुभव छ । महिला सशक्तिकरण र आर्थिक सशक्तिकरणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेकी चौधरीले मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरुलाई महिला, बालबालिका र जेठ्य नागरिकका सवालमा कसरी प्रभावकारी काम गर्न सकिन्छ सल्लाह र योजनाहरु तर्जुमा गर्न निर्देशन पनि दिइन् ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update