NRN
प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै एमालेले माग्याे बालकुमारी घटनाको छानविन प्रतिवेदन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत पुस ११ गते बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवा मारिएको घटनामा गरिएको छानविन प्रतिवेदन संसदमा प्रस्तुत गर्न माग गरेको छ ।  

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमा सभामुखको ध्यानाकर्षण गराउँदै एमाले सांसद योगेश भट्टराईले बालकुमारी घटनामा सरकारको प्रत्यक्ष संलग्न रहेको बताउँदै बालकुमारी घटनाको छानविन समितिको प्रतिवेदन संसदमा प्रस्तुत गर्न माग गरेका हुन् । 

बालकुमारी घटनाको कारक भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला रहेको बताउँदै उनलाई तत्काल सरकारबाट हटाउन माग गर्दै भट्टराईले भने, ‘बालकुमारीमा दुई युवाको हत्या भएको भनेर फागुन ६ गतेको संसद बैठकमा प्रधानमन्त्री स्वयंले भन्नुभएको छ । त्यो हत्या कसले गरेको हो । त्यहाँ कुनै नागरिक तहबाट एक अर्कामा झडप भएर हत्या भएको होइन । सुरक्षाकर्मीको गोलीबाट हत्या भएकोले त्यसमा सिंगो सरकार जिम्मेवार छ भन्ने कुरा हामी जोड दिएर भन्न चाहन्छौँ । एकजना भौतिक पूर्वाधार मन्त्रीको लापरवाहीले सो घटना भयो । सरकारले नै बनाएको बालकुमारी घटना छानविन आयोगले नै मन्त्री दोषी छ भनेपछि त्यो मन्त्री फेरी पदमा बाहाल हुने भन्ने कुरा नैतिक हिसावले हुँदै हुँदैन ।’ प्रधानमन्त्रीले नै हत्या भनेपनि सुरक्षा निकायलाई कमाण्ड गर्ने गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’ 
उनले सो घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत नैतिक जिम्मेवारी लिनुपर्ने उनले बताए ।

त्यस्तै, टेरामेक्स काण्डमा संलग्न रहेको भनेर स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग अख्तियारले बयान लिएको बताउँदै उनले मुद्धा प्रभावित पार्न सक्ने भन्दै उनलाई पनि सरकारबाट हटाउन माग गरे । 

‘झण्डा हल्लाएर अख्तियारको अफिसमा बयान दिन गएका मन्त्री सम्भवत: उहाँ पहिलो होला । अख्तियारले बयान लिएको छ भने त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा हामीलाई किमार्थ स्वीकार्य छैन,’ उनले भने, ‘यो नैतिक प्रश्न हो । छानबिन हुँदै जाला तर बहालवाला मन्त्री झण्डा हल्लाएर अख्तियारमा बयान दिन जाने अनि छानबिनलाई पनि अगाडि बढाउने हो भने छानबिन प्रक्रिया पनि प्रभावित हुन्छ । त्यसकारण निष्पक्ष ढंगले अगाडि बढाउन आजका स्वास्थ्य मन्त्रीजी पदमा बस्न मिल्दैन उहाँको राजीनामा हाम्रो भनाइ हो ।’

त्यसैगरी, गौतमबुद्धको अस्तुधातु भएको रामग्राम प्राइभेट कम्पनीलाई ९९ बर्षसम्मलाई भाडामा दिने प्रक्रियामा पर्यटनमन्त्री सुदन किराँती संलग्न रहेको बताउँदै नैतिकताको आधारमा उनीपनि सरकारमा बस्न नहुने एमालेको माग छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update